२०८२ असार १३, शुक्रबार १८:१०
काभ्रे, खानीखोला । खानीखोला गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा पालिका स्तरीय अन्तर-मावि “बालविवाह, यसको असर र न्यूनीकरणका उपायहरू” शीर्षकमा चेतनामूलक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
गाउँपालिकाका आठवटा माध्यमिक विद्यालयहरूमध्ये सात विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए। विद्यार्थीहरूले बालविवाहका नकारात्मक प्रभाव र न्यूनीकरणका उपायहरूबारे ओजपूर्ण प्रस्तुति दिएका थिए।

प्रतियोगितामा जनविकास माविकी नेहा खुलालले प्रथम स्थान हासिल गर्दै नगद रु. १०,००० र सम्मानपत्र प्राप्त गरिन्। शारदा माविकी सुनिता थोकरले द्वितीय स्थानमा रहँदै रु. ७,५०० नगद र प्रमाणपत्र प्राप्त गरिन् भने तृतीय स्थान जनविकास माविकै युवराज ठकुरीले जित्दै रु. ४,००० सहित सम्मानपत्र प्राप्त गरे।
त्यस्तै, कुमारी माविका सुमन सिंतान र भृकुटी माविकी रजनी टुम्सिङ्ग मगरले सान्त्वना पुरस्कार स्वरूप रु. २,००० नगद र सम्मानपत्र प्राप्त गरे।

यस कार्यक्रमले बालविवाह जस्तो गम्भीर सामाजिक विषयमा विद्यार्थीहरूमा चेतना फैलाउनुका साथै युवा पुस्तालाई सकारात्मक रूपमा सशक्त बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।
















