
काभ्रेपलाञ्चोक, खानीखोला — खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडाबीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर पल्टिएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। सडक निर्माणको क्रममा शनिबार दिउँसो अचानक सडक भासिएर स्काभेटर पल्टिएको हो। यद्यपि घटनामा कुनै मानवीय क्षति भने नभएको गाउँपालिकाले जनाएको छ।
स्थानीयबासीका अनुसार, भासिएको भाग सडकको अत्यन्तै संवेदनशील भूभागमा पर्दछ, जहाँ वर्षाको कारण जमिन कमजोर बनेको थियो। स्काभेटर पल्टिएपछि सो सडकखण्ड अवरुद्ध बनेको छ भने खानीखोलामा आवतजावत गर्ने एक मात्र प्रमुख सडक अस्थायी रूपमा बन्द भएको छ। हाल जनताले वैकल्पिक असुरक्षित बाटो प्रयोग गरी जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन्।

घटनापछि खानीखोला गाउँपालिकामा रहेको जेसीबीमार्फत स्काभेटर तान्ने प्रयास गरिएको थियो तर सफल हुन सकेन। यसपछि निर्माण व्यवसायी चर्चित लामाले ठूला मेसिनको आवश्यकताका कारण काम रोकिएको जानकारी दिनुभयो। उहाँका अनुसार, सडक निर्माणलाई गति दिनका लागि ठूला डोजरको पर्खाइमा छन् र ती यथासिघ्र परिचालन गरिनेछ।
घटनाको जानकारी पाएलगत्तै खानीखोला गाउँ प्रहरी इन्चार्ज रमेश तिमल्सिनालाई पालिकाको निर्देशनमा तुरुन्तै घटनास्थल पुगेका थिए। उनले घटनास्थलको अवलोकन गर्दै स्थानीयलाई सडक प्रयोग नगर्न र सतर्क रहन अनुरोध गरेका छन्।
लगातारको वर्षाले उक्त क्षेत्रको भौगोलिक संरचना थप जोखिमपूर्ण बनेको छ। पहिरो र जमिन भासिने घटनाले खोपासी–तालढुंगा सडकको काममा लगातार अवरोध पुर्याइरहेको छ। भूगर्भिक असहजता र कमजोर नाली व्यवस्थापनले समस्या झनै जटिल बनेको निर्माण पक्ष बताउँछ।

खोपासी–तालढुंगा सडक खण्ड खानीखोला क्षेत्रलाई पनौतीसँग जोड्ने मुख्य आवागमन मार्ग हो। सडकको अपूर्ण निर्माण, अस्थायी मर्मत, पहिरोको जोखिम र वर्षायाममा सडक भासिने समस्याले गर्दा स्थानीयहरू लामो समयदेखि जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। पछिल्लो पटक स्काभेटर सडक भासिएर पल्टिएपछि उक्त खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
तत्कालीन आवश्यकता : समन्वय र दीर्घकालीन योजना
हालको अवस्थामा सडक निर्माण कार्यलाई अघि बढाउन संघीय तथा प्रदेश सरकारको सक्रिय हस्तक्षेप आवश्यक देखिन्छ। बजेटको दीर्घकालीन योजना, ठेक्का प्रक्रिया पारदर्शी बनाउने, भूगर्भिक अध्ययनसहित आधुनिक प्रविधि प्रयोग गरी सडक निर्माणलाई दीगो बनाउनुपर्ने स्थानीय नेताहरूको सुझाव छ ।

स्थानीय नागरिकले समयमा सडक मर्मत र दुर्घटनास्थलबाट स्काभेटर हटाउने व्यवस्था गर्न माग गरेका छन्। “हामी जोखिम मोलेर हिँड्न बाध्य छौं, बाटोको अवस्था हेर्दा गाडी गुड्न त परै जाओस्, मानिस हिँड्नसमेत डर लाग्छ,”
खानीखोला क्षेत्रको यातायात व्यवस्था ठप्प पार्ने गरी स्काभेटर पल्टिएको घटना तत्काल समाधानको माग गर्छ। वर्षायामको उच्च जोखिमलाई ध्यानमा राखी भूगर्भ विज्ञ, इञ्जिनियर र प्रशासनबीचको समन्वयमा दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ। स्थानीयवासीको जनजीवन सहज बनाउन यथासिघ्र मर्मत कार्य सुचारु गर्न सरकार गम्भीर हुनुपर्ने आवश्यकता देखिन्छ।



















