काठमाडौं। कवि जुमन किरणको कवितासङ्ग्रह ‘यादहरुको बहिर्गमन’ सार्वजनिक गरियो ।
सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा उक्त कृति लोकार्पण भएको हो ।
बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकार,कलानिधी दाहाल,श्रीओम श्रेष्ठ रोदन,कृष्ण प्रधान,छविरमण सिलवाल,प्रोल्लास सिन्धुलीय लगायतले उक्त कृति लोकार्पण गरे ।
कृति लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि शैलेन्द्र साकारले कविताको क्रियशनले आफुलाई तानेको बताए । उनले जुमनलाई प्रयोगशील कविको रुपमा चित्रण गरे । कविताहरु सौम्य व्यङ्गचेतले भरिएका आफुले पाएको बताए ।
कृतिबारे परिचर्चा गर्दै वरिष्ठ कवि कृष्ण प्रधानले कवि समयसँग सम्बाद गर्न खप्पिस भएको बताए । उनले कविता कृतिको शिर्षक मन परेको बताउँदै भने लघु कविताको रुपमा जुमनको कविताहरु आएका छन् । जसमा मौन विद्रोह,गम्भीर विद्रोहको पक्ष हावी भएको छ । कविताहरु नयाँपनले भरिएको छ । उनले कतैकतै कविताहरुमा दार्शनिक चेत आएको पनि बताए । गम्भिर बिम्बहरुको प्रयोगले कविताहरु सुन्दर भएको उनको धारणा थियो ।
श्भकामना मन्तव्य व्यक्त गर्दै बरिष्ठ कवि कलानिधी दाहालले भने साहित्यमा निरन्तरता,संकल्प र समर्पणको जरुरत पर्छ । जुमनमा यी सबै देखिएको छ । बिम्ब छनौटबाट आफु प्रभावित भएको उनले बताए । कवि जुमनमा चेतनाको तिव्रता रहेको आफुले पाएको भन्दै निरन्तरतामा जोड दिए ।
अर्का वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले भने स्रष्टाहरु सबै उत्सव पारेर मात्र ल्याउँदैनन् । कृति प्रकाशन भैसकेपछि उसैपनि सार्वजनिक उत्सव हो । जन्मदिनको दिन नयाँ कृति ल्याउनु भयो बधाई छ ।
कृतिकार जुमन किरणले आफुलाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नेहरुप्रति आभार व्यक्त गरिन् । उनले पुस्तक पढेर रचनात्मक सुझाव दिन अनुरोध समेत गरिन् ।
सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष साहित्यकार छविरमण सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार प्रोल्लास सिन्धुलीयले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा लोकार्पित कृतिबाट रुविना राना,विनोद खत्री आकाश र बसुन्धरा चौहानले कविता बाचन गरे ।
प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य पूर्णबहादुर श्रेष्ठ ह्रदयङ्कृतले गरेका थिए ।


















