काठमाडौँ– सर्जक तारादेवी सुनुवारले सन्देशमूलक तिज गीत ‘रातो सारी’ सार्वजनिक गरेकी छन् ।
तिज पर्वको सन्दर्भ पारेर सार्वजनिक भएको गीतको शब्द, रचना तारादेवी सुनुवारकै छ भने गायिका कल्पना सुनुवार र तारादेवी स्वर दिएका छन् । योगेश काजी शाहको संगीत र एरेञ्ज रहेको गीतको भिडियोमा कलाकार ममता मगर लगायतले अभिनय गरेका छन् । भिडियो निर्देशन कल्पना सुनुवारले गरेकी हुन् भने कोरियोग्राफी माधव श्रेष्ठले गरेका थिए ।

समाजमा बढ्दो विकृति, पारिवारिक विखण्डन, अस्वस्थ खानपान र गाउँ–घरप्रति बढ्दै गएको वितृष्णालाई चिर्दै घर, परिवार, आफन्त र समाजलाई एकताको सूत्रमा बाँध्ने सन्देश गीतले बोकेको सुनुवारले बताइन् । पछिल्ला वर्षहरूमा तिजमा देखिएको भड्किलोपनको प्रवृत्तिलाई समालोचना गर्दै तिज पर्वको मौलिकता, आराध्यदेव शिवसँगको सम्बन्ध र पारिवारिक सन्देशलाई जोड्न खोजेको उनले बताइन् ।



















