काभ्रेको पनौती नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। आइतबार आयोजित औपचारिक समारोहमार्फत जिल्ला खोप समितिले पनौतीका सबै वडामा रहेका १६ देखि २३ महिनासम्मका बालबालिकालाई आवश्यक सम्पूर्ण खोप दिइसकिएको प्रमाणित गर्दै पूर्णखोपको घोषणा गरेको हो।

गृह सर्वेक्षणदेखि प्रमाणित घोषणा सम्मको विस्तृत प्रक्रिया
पनौतीलाई पूर्णखोप घोषणा गर्नुअघि माघ र फागुन महिनामा खोप समितिको बैठक बसेर आवश्यक तयारी गरिएको थियो। यसक्रममा स्वास्थ्यकर्मीहरूले घरधुरीमै पुगेर अनुसूची ५ र ६ अनुसार डेटा संकलन गरे। प्राप्त विवरणलाई समितिले पुनः भेरिफिकेशन गरी कुनै पनि बालबालिका खोपबाट वञ्चित नभएको प्रमाणित गरेपछि मात्रै पूर्णखोप घोषणा गरिएको हो।
जनस्वास्थ्य कार्यालय धुलिखेल र जिल्ला खोप समितिले संयुक्तरूपमा मूल्यांकन गरेर औपचारिक रूपमा घोषणा गर्दै प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रमका दौरान नगर स्वास्थ्य शाखा प्रमुख जनक केसीले पूर्णखोप सुनिश्चिततासम्बन्धी सम्पूर्ण प्रक्रिया र तथ्याङ्कबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।


















