
नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता हुँदै आत्मनिर्भर देशको लक्ष्यका साथ देशभर उत्पादन अभियानलाई तीव्रता दिएसँगै नेकपाका नेताकार्यकर्ता राेपाईमा व्यस्त छन् । असार १० गतेबाट सुरु भएको यो अभियान आगामी साउन १० गतेसम्म चल्नेछ । जसमा पार्टीका सबै तहका नेता-कार्यकर्ताहरू खेतबारीदेखि खलिहानसम्म सक्रिय रूपमा संलग्न छन् ।
पार्टी महासचिव विप्लव सीले यस अभियानलाई पार्टीको आन्तरिक आत्मनिर्भरताका साथै समग्र देश र जनतालाई आत्मनिर्भर बनाउने बृहत्तर लक्ष्यका साथ अगाडि बढाइएको बताएका छन् । उनका अनुसार यो केवल पार्टीको मात्र नभई, देश र जनताको साझा अभियान हो । जसको मूल लक्ष्य देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाई नेपाली जनतालाई स्वाभिमानी र स्वाधीन जीवनयापन गर्न सक्ने बनाउनु हो ।

नेकपाले आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ताको वैचारिक जग निर्माण गरी यसलाई व्यवहारमा उतारेको केही समय भइसकेको छ । यसैको निरन्तरता स्वरूप, वर्तमान उत्पादन अभियानलाई अझ सशक्त बनाइएको छ । पार्टीको स्थायी समिति, पोलिट ब्युरो र केन्द्रीय समितिको नेतृत्वमा देशभरका नेता-कार्यकर्ताहरू उत्साहका साथ यस अभियानमा होमिएका छन् ।


















