भोजपुर, ८ असार ।
लोमा खोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ सय घरमा ‘एक घर एक धारा’ सञ्चालनमा आएको छ । पानीको समस्यामा रहेका यहाँका आठ सय घरमा धारा जडान गरिएको हो ।

आयोजनाबाट तत्काललाई पानीको अति नै समस्या रहेका क्षेत्रमा पानी वितरण भईरहेको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन विक्रम राईले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा पनि तीव्र गतिमा निर्माणको कार्य भईरहेकाले यो वर्ष नै एक हजार घर परिवारमा पानी वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष राईको भनाइ छ ।
“लोमा खोला आयोजनामार्फत पानी वितरण भइरहेको छ”प्रमुख ठाकुरले भन्नुभयो“हालसम्म यहाँको करिव ७५ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनालाई आगामी वर्ष भित्रमा सम्पन्न गराउने कार्यालयको लक्ष्य छ ।” दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिव ४७ किलोमिटर र वितरण लाईन करिव एक सय ५३ किलोमिटर रहेको कार्यालयले जनाएको छ ।
















